राजनीति

आज चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउँदै

काठमाडाैं । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । विदेशमन्त्री वाङ तोकिएको समयभन्दा करिब दुई घण्टाअघि नेपाल आईपुग्ने जनाइएकाे छ ।

विदेशमन्त्री वाङ बेलुकी ५ बजे आउँने कार्यतालिका भन्दा दुई घण्टा अर्थात ३ बजे नेपाल आईपुग्ने भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उनी विशिष्ट व्यक्ति हुन् । विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । विदेशमन्त्री वाङको भ्रमणका बेला नेपाल र चीनबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी हुनेछ भने विभिन्न परियोजनालगायतबारे पनि कुराकानी हुनेछ ।

नेपालले चिनियाँ पक्षसँग नाकामा भएको आवातजावतको समस्या, चीनमा एमबिबिएस पढेर इन्टर्न गर्न नपाएका विद्यार्थीको समस्या लगायत विषय पनि उठाउने भएको छ । साथसाथै बिआरआई परियोजनालगायत विषयमा पनि कुराकानी हुनेछ ।

नेपालसँग रेल्वे परियोजनालगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ । नेपालमा चिनियाँ रेल निर्माणको सम्बन्धमा थप छलफल हुने जनाइएको छ । 

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ । चिनियाँ बिदेशमन्त्री वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री वाङ यसअघि २०७६ साल भदौ महिनामा पनि नेपाल भ्रमणमा आएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत