गाउँ सहर

म्यादी प्रहरी भर्नाका लागि दरखास्त आवहान

काठमाडाैं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आवेदन खुला गरेकाे छ । काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

कुनै राजनीतिक दलको सदस्य नभएको, फौजदारी अभियोग नलागेको,शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेकाहरूले आवेदन दिन पाउनेछन् । यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने छ ।

११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नुपर्ने जनाइएकाे छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागले जानकारी दिएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत