निर्माण

पोखरा महानगर वडा नं ३१ को प्रशासनिक भवन निर्माण हुने

लेखनाथ । आफनै प्रशासनिक भवन नहुँदा भाडामा बस्दै आएको पोखरा महानगरपालिका वडा नं ३१ ले आगामी १५ महिनाभित्र आफनै प्रशासनिक भवन पाउने भएको छ ।

साविक लेखनाथको बेगनासताल नजिक मत्स्य अनुसन्धान केन्द्रको मातहतमा रहेको करिव आठ रोपनी मध्ये वन विभाग र सिंचाईको सिफारिसमा मन्त्रीपरिषदको निर्णयबाट तीन रोपनी क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।

भवनको शुक्रवार पूर्व गृहमन्त्री तथा संघीय सासंद खगराज अधिकारीले शिलान्यास गर्दै विकास निर्माणका काम भने जस्तो सहज नहुने र प्रक्रिया मिलाएर गर्दा ढिला भएपनि राम्रो काम भएको बताएका थिए ।

विकास निर्माणका नाममा मुद्धा मामिला गर्न छोडेर साझा अवधारणाले अगाडि बढ्ने हो भने असम्भव काम पनि सम्भव हुने बताउदै राजनीतिमा प्रतिस्पर्धा गरेपनि विकास निर्माणका काममा साझा अवधारणाले अगाडि बढ्न सबैलाई अनुरोध गर्दै नेता अधिकारीले यो क्षेत्रको विकासमा आफनो तर्फबाट सक्दो सहयोग भईरहको र आगामी दिनमा पनि प्रयास रहिरहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सोही अवसरमा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालाले प्रशासनिक भवनको समयमा नै सम्पन्न हुनेमा विश्वास ब्यक्त गर्दै बेगनास क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गराउनका लागि पोखरा आएका पर्यटकलाई यस क्षेत्रमा भित्राउन सबैको साथ र सहयोग आवस्यक हुने बताएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेबी गुरुङले जनसरोकारका काम हुने प्रशासनिक भवन समय सापेक्ष अनुसार सुविधायुक्त हुनु पर्नेमा जोड दिँदै महानगरपालिका भित्र अहिलेसम्म आठवटा वडामा नयाँ प्रशासनिक भवन सम्पन्न भएको र ११ वटा वडाको भबन स्तरोन्नती गरी प्रशासनिक काम सम्पादन हुँदै आएको जानकारी दिएकी थिईन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका ईन्जिनियर पुर्ण बहादुर गुरुङले करिब चार करोड ८३ लाखको लागत इस्टमेट भएपनि बोल कबाेलबाट तीन करोड छ लाखको लागतमा तीन तले भवन निर्माण हुने सम्झौता भएको र उक्त भवन २०८० को जेठ महिना भित्र सम्पन गरिसक्ने बताइएको छ  ।

कार्यक्रममा नेकपा एमाले वडा कमिटी अध्यक्ष चिरञ्जीवी बञ्जरा, नेपाली काग्रेसका वडा सभापति महेश पौडेल, माओवादी केन्द्रका अध्यक्ष भरत ढकाल, जनता समाजवादी पार्टीका गण्डकी प्रदेश सदस्य मधुकर न्यौपाने र सम्पूर्ण महिलाहरुको तर्फबाट बेगनासताल महिला समुहका अध्यक्ष दुर्गा अधिकारी, स्थानीयहरुको तर्फबाट दिननाथ ढकाल लगायतले राजनीतिक स्वार्थ भन्दा माथि उठेर विकास निर्माणका काम गर्नु पर्ने सुझाव राखेका थिए । वडाध्यक्ष कमल बादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव दुर्गा न्यौपानेले संचालन गरेकी थिईन भने स्वागत मन्तव्य वडा सदस्य पुर्णखर पाण्डेले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत