गाउँ सहर

महाशिवरात्रिमा पशुपति क्षेत्रमा यी क्षेत्रबाट यात्रा नगर्न अनुराेध

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको छ ।

महाशाखाले आज मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतका लागि ट्राफिक व्यवस्थापन मिलाएको हो । महाशाखाले विभिन्न नाका हुँदै पशुपति मन्दिरभित्र प्रवेश गर्ने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको छ ।

टाढा–टाढाबाट भक्तजनहरु आउने भएकोले उनीहरुको सुविधानका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाइएको छ भने गौशला क्षेत्रका विभिन्न ठाउँमा छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

शिवरात्रिका लागि पशुपति क्षेत्रमा करिब दुई सय पोइन्टमा पाँच सय ट्राफिक प्रहरी परिचालित छन् । चावाहिल, मित्रपार्क, जय बागेश्वरी, गौशाला, गौरीघाट, तिलगंगा, बत्तिसपुतली, रातोपुल, कालोपुल, सिनामंगललगायतका स्थानबाट सवारी प्रवेश निषेध–कर्डन बार तोकिएको छ ।

ट्राफिक प्रहरीले पुरानो बानेश्वर, भीमसेन गोला, सिनामङ्गल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ । त्यस्तै, धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफललगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै चाबहिल, गौरीघाटलगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।

सिफल चौर, गुह्येश्वरीपारि, पशुपतिक्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीको लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ ।

 

यसैगरी, महाशिवरात्रि पर्वको अवसरमा महानगरीय प्रहरी परिसरले पशुपतिक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले महाशिवरात्रि पर्वलाई विचार गर्दै ४३ सय प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार एसपीको कमाण्डमा प्रहरीको ११ वटा सबकमाण्ड पोष्ट शिवरात्रिको लागि पशुपतिक्षेत्रमा परिचालन गरिएको छ । पशुपति क्षेत्रमा आजबाट बिहीबार बिहानसम्म प्रहरी परिचालन गरिइएको उनको भनाइ छ ।

पशुपतिक्षेत्रमा एक हजार ५० महिला र ३२ सय ५० पुरुष प्रहरी गरी जम्मा ४३ सय प्रहरी परिचालन गरिएको प्रवक्ता मैनालीले बताए ।

प्रहरीले भक्तालुहरुलाई बहुमूल्य गरगहना लगाएर नआउन अनुरोध गरेको छ । साथै पशुपतिक्षेत्रमा आउने भक्तालुहरुलाई कुनै समस्या भए १०० मा फोन गर्न वा १०० मा फोन नलागे त्यही रहेको प्रहरीको कमाण्डमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

त्यस्तै, महाशिवरात्रि मनाउन पशुपतिमा आउने साधुसन्तहरुका लागि यातायात र सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन सहज, सुरक्षित र छिटो दर्शन गराउने कामलाई प्रभावकारी बनाउँदै आएपनि प्रहरी बिना सम्भव नहुने भएकाले प्रहरी परिचालन गर्नुपरेको उनले बताए ।

‘मङ्गलबार महाशिवरात्रि पर्वमा पशुपतिक्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई प्रभावकारी बनाइएको छ । आज ४ बजेदेखि प्रहरी परिचालन गरिएको छ ।’ उनले भने ।

यता, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा गठन भएको १११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति–२०७६ अन्तर्गत ११ वटा उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचार–प्रसार, वातावरण सरसफाई, स्वास्थ्य सेवा, स्वयंसेवक परिचालनलगायतका काम गर्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

बाहिरी ढोकाबाट एक–एक लाइनको व्यवस्था गर्ने र भित्र चार लाइनसम्म व्यवस्था गरी दुई घण्टा भित्रमा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीसहित सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिसहित छ हजार सुरक्षाकर्मी र करिब पाँच हजारको सङ्ख्यामा स्वयंसेवकहरु परिचालन हुने मन्त्रालयले जनाएको छ ।

पशुपति विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीका अनुसार महाशिवरात्रिका दिन बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुने भएकाले चारै प्रहर भक्तजनलाई पङ्तिबद्ध भएर पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ । कोरोना महामारी रहिरहेकाले भक्तजन र दर्शनार्थीलाई अनिवार्य मास्क र भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत