गाउँ सहर

जान्नुहाेस् भगवान शिवजीका यी रहस्य

शंकरको "श" को अर्थ हो कल्याण र "कर" को अर्थ हो गर्ने । शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ । शिव,अद्वैत, कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् । शिवनै ब्रह्मा हुन्, ब्रह्मानै शिव हुन्, शिवनै बिष्णु हुन् अनि बिष्णुनै शिव हुन् , यस संसारको सृष्टि, पालन र संहारको लागि एउटै नाउँ विभिन्न नामले चिनिदै आएको छ ।

शिवलिंग भगवान शिव प्रतीक हो । निश्चल ज्ञान र तेज़को प्रतिनिधित्व शिवलिंगले गरेको हुन्छ । 'शिव' को अर्थ हो - 'कल्याणकारी' र 'लिंग' को अर्थ हो - 'सृजनता' ।शिवलिंग जल, दूध, बेलपत्रले पूजिन्छ । लिंगको मूलमा ब्रह्मा, मध्यमा विष्णु र माथिपट्टि प्रणवाख्य स्वयम् महादेव रहेका हुन्छन । शिवलिंगको वेदी महादेवी स्वरुप हुन् र लिंग स्वयम् महादेव । शिवलिंगको मात्र पूजा गर्दा सबै देवी देउताको पूजा गरेको मानिन्छ । शिवलिंगमा जल अर्पण गर्नुको अर्थ हो प्राणको सुरक्ष्या । शिवलिंग माथि जल अभिषेक गर्नुको अर्थ हो परम तत्वमा प्राण विसर्जन गर्नु ।

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ ।

भगवान शिव सधैँ बाघको छालामा सजिएका हुन्छन् । उनले गहना स्वरुप नागको माला पहिरिन्छन् । सुन चाँदिको गहना कहिल्यै लगाउँदैनन् शिव भगवान । हातमा त्रिशुल लिएका उनको शिरमा चन्द्रमा र गंगा हुन्छन् ।

धर्मग्रन्थहरुमा भगवान शिवको जुन स्वरुपको बर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ ।

शिवजीले बाघको छाला किन लगाए ?

भगवान शिवजीले किन लगाए बाघको छाला भन्ने प्रश्नको उत्तर शिव पुराणमा खोज्ने हो भने विस्तृतमा भेटिन्छ । आखिर शिवजीले किन बाघको छाला लगाए ? यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा भगवान शिव र बाघसँग सम्बन्धित प्रसंग रहेको छ ।

पौराणिक कथा अनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे । यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।

भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरु भगवान शिवप्रति आकर्षित भए । सबै काम छोडेर ऋषि पत्नीहरु शिवजीको पछि लाग्न थालेपछि ऋषिहरु तनावमा परे र उनीहरु शिवसँग क्रोधित भए । तर उनीहरुले निवस्त्र हिड्ने भगवान शिव हुन् भन्ने चिनेनन् ।

त्यसपछि ऋषिहरुले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय रचे । ऋषिहरुले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे ।

त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति निर्वस्त्र व्यक्ति (शिवजी)लाई खाओस् । तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरुले ति समान्य व्यक्ति नभएको थाहा पाए ।

त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।

भगवान शिवले किन पूरै शरीरमा खरानी (भस्म) लगाउँथे ?

भगवान शिव पूरै शरीरमा भस्म लगाउँछन् । शिवभक्त निधारमा भष्मको तिलक लगाउँछन् । शिव पुराणमा यसबारे निकै रोचक कथा पढ्न पाइन्छ । एक सन्त लगातार तपस्या गरेर धेरै शक्तिशाली भएका थिए ।  जसले केबल फलफूल र हरियो पात मात्रै खान्थे । त्यहीकारण उनको नाम प्रनद पड राखिएको थियो ।

आफ्नो तपस्याबाट ती साधुले जंगलका सबै जीवजन्तुमा नियन्त्रण स्थापित गरेका थिए । एक पटक आफ्नो कुटीको मर्मतका लागि उनी काठ काटिरहेका थिए । त्यही बेला उनको औँलो काटियो । साधुले आफ्नो औँलाबाट रगत बग्नुको साटो रुखको रस निक्लिरहेको थियो ।

साधुलाई आफू धेरै पवित्र भएकाले शरीरमा रगत होइन रुखको रस भरिएको लाग्यो । उनलाई त्यो कुराले धेरै खुसी लाग्यो । अनि उनमा घमण्ड पनि बढ्यो । त्यसपछि उनले आफुलाई संसारकै सबैभन्दा पवित्र मान्छे ठान्न थाले । भगवान शिवले जब यो सबै घटना देखे तब एक वृद्धको रुप धारण गरेर ती साधुसामू पुगे । 

बुढो व्यक्तिको भेषमा पुगेका भगवान शिवले साधुसँग यति धेरै खुसी हुनुको कारण सोधे । तब साधुले खुसीको कारण बताइदिए । सबै कुरा जानेपछि भगवान शिवले रुख र फलको पनि रस नै भएको बताउँदै जब रुख विरुवा जल्छन् तब ती सबै खरानी हुने कुरा सम्झाए । 

बुढा व्यक्तिको रूप धारण गरेका शिवले तुरुन्त आफ्नो औँलो काटेर देखाए, जहाँबाट खरानी निस्किएको थियो । साधुलाई तब आफ्नो अगाडि भगवान् रहेको थाहा भयो । साधुले तत्कालै आफ्नो अज्ञानतका लागि क्षमा मागे । एउटा कथा अनुसार आफ्ना भक्तलाई शारीरिक सौन्दर्यको घमण्ड गर्नु हुन्न भन्ने कुरा याद दिलाउन भगवान शिवले त्यही बेलादेखि आफ्नो शरीरमा भष्म लगाउन लागे ।

भगवान शिवजीको प्रतिकहरु त्रिशूल, नाग र डमरू रहस्य के हो ?

त्रिशूल:-

शिवजीको त्रिशूल सत्य, तम, राज स्वरुपको परिचायक हो । जसलाई प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन पनि भनिन्छ । यस बाहेक त्रिशूलको तिन शूलले उदय, संरक्षण र बिनाश हुने कुराको प्रतिनिधित्व गरेको हुन्छ । यसैलाई भुत ,बर्तमान र भविष्य पनि भनिन्छ ।

नाग :

शिवजीको नाग बंशसँग गहिरो सम्बन्ध थियो । यिनि नाग बंशका आराध्य देव थिए । त्यसकारण इनको गलामा नागले शोभा पाएको थियो । नाग मान्छेको बोलीमा हुने बिषको परिचायक हो ।

डमरु :

गहिरिएर बिचार गर्ने हो भने सबै हिन्दूको देवी देवताहरुसँग एक एक वटा बाद्द्य बादन रहेको छ । यी सबैको प्रतीकात्मक अर्थ रहेको हुन्छ । शिवसँग रहेको डमरुको अर्थ हो यो विश्वमा नाद अर्थात ध्वनीको ठूलो महत्व छ । यिनि संगीतका जनक पनि हुन् । शिवजीको प्रादुर्भाव हुनु भन्दा पहिले कसैले नाच्न, गाउँन र बजाउन जान्दैनथ्यो । यहाँ डमरु अर्थात नादको अर्थ त्यसो ध्वनीसँग सम्बन्धित छ जो यस ब्रह्माण्डमा सधैं विद्यमान थियो अर्थात ॐ । यहि नादबाट परा, पश्यन्ति, मध्यमा र वाणीको उत्पत्ति भएको मानिन्छ । 

तेस्रो आँखा

शिवको तेस्रो आँखा शिवको एउटा विशेषता हो । सत्यभित्रको असत्य र असत्यभित्रकाे सत्य देख्ने तेस्रो आँखा त्यसलाई प्राप्त हुन्छ जसले कुनै चीजलाई पनि दोषी आँखाले हेर्दैन, केवल जिज्ञासु आँखाले मात्र हेर्दछ । जे अरूका आँखामा असत्य देखिन्छ त्यसले पनि कुनै अन्य सत्यको सन्देश बोकिरहेको हुन्छ । त्यसैले, एउटा रचनात्मकताको उपासकले लोकले भन्ने सत्य-असत्यकाे सबैलाई समान उत्सुकतासाथ हेर्नु पर्दछ भन्ने यो तेस्रो आँखाको सन्देश हो । यसलाई प्रज्ञाको आँखा पनि भनिन्छ । आधुनिक भाषामा भन्दा, दुनियाँमा जस्ता द्वैधताहरू छन् ती द्वैधताहरूभन्दा माथि उठेर वस्तु र तथ्यहरूलाई हेर्ने कुरा यसले जनाउँछ। सर्वकल्याणकारी तथ्यलाई देख्ने विवेकको आँखा नै प्रज्ञा हो, तेस्रो आँखा हो । यो तेस्रो आँखाका बारेमा गणेशको प्रसङ्गमै चर्चा गरिएकोले यहाँ यति मात्रै लेख्नु पर्याप्त हुनेछ ।

द्वैधताहरूका सूक्ष्म बीउहरू परमाणुभित्रै विद्यमान छन् । एउटै परमाणुभित्र पनि इलेक्ट्रोनले प्रोटोनलाई मन पराउँछ तर अर्को इलेक्ट्रोनलाई होइन । फेरि तीनै इलेक्ट्रोन-इलेक्ट्रोनको आफ्नो समूह छ, अनि प्रोटोन-प्रोटोनको पनि छ । यदि प्रोटोनले प्रोटोनलाई विकर्षण नै गर्नु छ भने सँगै किन ? त्यसैले, यो दुनियाँमा द्वैधताहरू सूक्ष्म परमाणुदेखि बृहत् ब्रह्माण्डसम्म विद्यमान रहन्छन् । त्यसैले, यहाँ पीर गर्नु पर्ने के छ ? - जे जस्तो अवस्थामा छ । त्यसलाई त्यसै रूपमा चिन्नु नै विवेक हो, वर्तमान उतार-चढावहरूलाई क्षणिक मानेर दीर्घकाल परको स्थितिलाई हेर्नु विवेक हो । त्यही शिवको तेस्रो आँखाको सन्देश हो । (विभिन्न स्राेतहरूकाे सहयाेगम)

गाउँ सहर डेस्क

तपाईँको मत