कला

लघुकथा: अवकाश

  • गंगा खड्का
  • ७ फाल्गुण शनिबार, २०७८ | ०९:०२:०० मा प्रकाशित

"अभय ! यो के नाटक हो ?"

रिमाले फोन गरेर अभयलाई कर्कशा शब्दमा बोली ।

"धन्यवाद ! गाली गर्ने बाहनामा भएपनि तिमीले मलाई आफ्नो बोली सुनायौ र मेरो बोली पनि सुन्यौ । आखिर माया भनेकै यही त हो ।" अभय भावनामा बहकियो ।

"धेरै नौनाटक होइन । छोडिसकेको मायाको लागि केको ह्याप्पी भ्यालेन्टाइन ? अनि किन लभ फर इभर लेखेको फूलको बुकी पठाउनुपर्‍यो ?"

"माया पनि छोडेर छोडिने कुरा हो र ? मायाको त न आदि हुन्छ, न अन्त्य । कागजी रूपमा पारपाचुके हुँदैमा मनमा कैद गरेको मान्छेलाई कसरी मनबाट अवकाश दिन सकिन्छ र ? फेरि तिमीले पनि मलाई बिर्सेकी रहेनछ्यौ नि । नत्र नामै नलेखिकन पठाएको बुकी मैले नै पठाएको भन्ने कुरा तिमीलाई कसरी थाहा भयो ?" अभयले रिमाको कटु प्रश्नमा मायाको सुगन्ध मिसाउँदै भन्यो ।

तपाईँको मत