अर्थतन्त्र

सुस्ताए शेयर लगानीकर्ता, न किन्ने आँट न बेचेर निस्कनै, काराेबार रकम स्वाट्टै घट्याे

काठमाडाैं । नेप्सेमा साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंककाे गिरावट आएको छ । आज नेप्से १.९३ अंकले घटेर दुई हजार सात सय ३२ दशमलब ५२ विन्दुमा झरेको हो ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब २७ करोड ८१ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।    

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । आज तेह्रथुमको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय २५ रुपैयाँ पुगेको छ भने युनाइटेडको शेयरमूल्य ५.५५ प्रतिशतले बढेर प्रतिकित्ता ६८५ रुपैयाँ पुगेको हो ।  

आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज २२ करोड ३७ लाख भन्दा बढीको कारोबार नेप्सेले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत