राजनीति

फागुन ६ गते बस्ने संसदमा एमसीसी प्रस्ताव टेबुल हुन्छ : कानुनमन्त्री बडु

काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने (शुक्रबार) संसदमा एमसीसी टेबुल गरिने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।  त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने उनले बताए ।

संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै दलहरूबीच आवश्यक देखिएका कारण आजको बैठकमा प्रस्ताव टेबुल नगरिएको दाबी गरेका छन् ।

मन्त्री बडूले भने, ‘एमसीसीलाई धेरै पर्खिनुहुँदैन । यो संसदमा प्रवेश गर्नुपर्छ । संसदमा टेबल हुनुपर्छ । संसदमा छलफल हुनुपर्छ । हामी टेबल गर्ने निर्णयमा पुगिसकेका छौं ।’

उनले भने, ‘सडकको बहसले यसको टुंगो लगाउन सक्दैन । त्यसैले यसलाई टुंग्याउ भन्ने हाम्रो पार्टीको र सरकारको प्रस्ताव हो । एमसीसीलाई संसदमा टेबल गराउने हाम्रो उदेश्य हो ।’ 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजको संसद् बैठकमा प्रस्ताव टेबुल नगर्ने सहमति भएकाे हाे । 

गठबन्धनमा रहेका पाँच दलबीच सहमति नभइकन प्रस्तावलाई टेबुल गर्न नहुनेमा गठबन्धनकै घटकहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । सत्ता नेतृत्व दल कांग्रेस एमसीसीलाई बुधबार नै संसदबाट पारित गर्ने पक्षमा थियो ।

अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले पनि एमसीसी पारित गर्ने आजसम्मको समयसीमा दिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत