गाउँ सहर

कार्य व्यवस्था परामर्श समितिको बैठक : एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय

काठमाडौं । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठकले प्रतिनिधिसभाको आजको बैठकको एजेन्डामा एमसीसी नराख्ने भएकाे छ । 

प्रतिनिधिसभाकाे बैठक बस्नुअघि बसेकाे कार्यव्यवस्थाको बैठकमा दलहरुबीच एमसीसीका विषयमा सहमति नजुटेको भन्दै सभामुखले अग्नी सापकाेटाले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन ।

आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसेको थियो । बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नहुने अडान राखेका थिए । बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएका हुन् ।

कार्यव्यवस्थाको बैठकमा नेकपा एमाले र जसपाका नेता अनुपस्थित थिए ।

संसद बैठक अघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज संसदमा एमसीसी पेश नगर्ने सहमति भएको थियो । एमसीसीबारे थप छलफल गर्न भोलि दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि देउवा र प्रचण्डबीच भएको छ । 

प्रतिनिधिसभाको बैठक अहिले केही बेरमा सुरु हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत