राजनीति

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी

काठमाडाैं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्बन्धी प्रस्ताव समावेश छैन । कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । तर, सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ ।

संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुन सक्ने बताइएको छ ।

हिजाे सम्पन्न कांग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई एमसीसी टेबल गर्न आग्रह गरेका थिए । यो विषयमा सभामुख सकारात्मक रहेको कांग्रेसको जानकारी दिएकाे छ । 

सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी भने एमसीसीको पक्षमा खुलेका छैनन् । प्रतिपक्षी दल एमालेले भने सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय गर्ने बताएको छ ।

सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत