गाउँ सहर

स्थापना दिवसकाे अवसरमा लुम्बिनी सरकारद्वारा सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले आज फागुन ३ गते स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

प्रदेशले आज दाङ देउखुरीको राप्ती उपत्यकामा भव्य कार्यक्रम गर्न लागेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउन लागिएको सरकारले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । 

सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका सङ्घसंस्थामा प्रतिनिधिलाई आमन्त्रण गरेको छ । 

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने सूचना अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । 

सो अवसरमा प्रगति प्रतिवेदन, प्रदेश डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने छ । प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । सत्र महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले काम गर्दै आएको छ ।

विसं २०७७ असोज २० गते प्रदेशसभाको बैठकको दुईतिहाइ बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो। सो निर्णयानुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत