गाउँ सहर

चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले, सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजाने

काठमाडौं । नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनमा आवद्ध प्रमुख तीन दलले प्रधानन्यायाधीविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेपछि एमालेले चार चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिए । यसबारे आजको संसदीय दलको बैठकमा छलफल हुने उनले बताए ।

एमालेले यसअघिदेखिनै प्रधानन्यायाधीशसहित पाँचै जनाविरुद्ध महाअभियोग लगाउनुपर्ने बताउँदै आएको थियो । महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ ।

सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ ।

आजको सर्वदलीय बैठकमा आफूहरू नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । सभामुख अग्नि सापकोटाले सोमबार दुई बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत