राजनीति

कमल थापा आफैँले थपना गरेकाे राप्रपा नेपालमा फर्किए, फागुन ७ मा घोषणा गर्ने

काठमाडाैं । कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन् ।

राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।  

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी  निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले जानकारी दिए । ‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने । 

थापाले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्यूँत्याउने जनाएका छन् ।

पार्टीकाे घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुने थापाले विज्ञप्तिमा जनाएका छन् । थापाले विज्ञप्तिमा भनेका छन्, ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ ।’

नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भएकाे औंल्याउँदै थापाले २०७३ सालदेखि आफूहरूले बाटो बिराएकाे बताएका छन् ।

पार्टी ठूलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा परेकाे पनि थापाले स्वीकारेका छन् । थापाले अबदेखि 'हिन्दुराष्ट्र, सुशासन र समृद्धि' राप्रपा नेपालको मूल एजेण्डा हुने उनले जानकारी दिएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत