सडक/यातायात

आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन हुने

जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल सञ्चालन गरिने भएको छ । 

आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिए ।

तत्कालका लागि यात्रुबिनाको रेल चलाउन लागिएको हो । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए । 

रेलवे लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ ।

अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । गेट म्यान कर्मचारी आज बिहानैबाट काममा खटिने झाले बताए । 

६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिनेछन् । १२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बुझिएको छ ।

जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।

०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको थियो । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए । तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत