स्वास्थ्य

१८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज

काठमाडाैं । फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन् ।

कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ’, पत्रकार सम्मेलनमा उनले भनेका छन्,‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ ।’

सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताएका छन् । त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए ।

विगतमा जोखिमा रहेका गर्भवती महिलालाई मात्र खोप दिने नीति लिएकोमा अहिले सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने उनले बताए ।

उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप प्रदान गर्न खोप उपब्धताको लागि पत्रचार भइसकेको र सुनिश्चितता भइसकेको बताएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत