गाउँ सहर

जुत्तापसलमा भएकाे आगलागीबाट मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो

घोराही । दाङको एक जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। 

तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित जुत्तापसलमा आगलागी भएर मृत्यु हुने ६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

उनीहरु घरमा सुतिरहेको बेला आज बिहान २ बजेतिर आगलागी सुरु भएको थियो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

आगो कम भएपछि साढे ७ बजेतिर शव बाहिर निकालिएको थियो । घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो निभाएकाे हाे ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत