गाउँ सहर

अदालतबाहिर कुमारी आमाको प्रदर्शन

तस्बिरः राजधानी जनकपुर ।

जनकपुरधाम । बलात्कार अभियोग लागेका युवकलाई सफाइ दिएको विरोधमा जिल्ला अदालत धनुषाअगाडि एक महिलाले प्रदर्शन गरेकी छन् ।

महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका सिंहले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् ।

सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो । श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् । हाल उनको दुई वर्षको छोरा छन् ।

सिंहले मंगलबार काखे बालक लिएरै जिल्ला अदालतबाहिर प्रदर्शन गरेकी थिइन् । उनलाई केही अधिकारकर्मीले साथ दिएका थिए ।

आफूलाई प्रेम जालमा पारी शारीरिक सम्बन्ध राखेर स्वीकार नगरेको र गर्भ फाल्न दबाव दिएको उनले बताएकी छन् । तीन वर्षअघि जनकपुरधाममा पढ्न बसेकी निहारिका र श्रेष्ठबीच प्रेम थियो । त्यस क्रममा शारीरिक सम्बन्धबाट निहारिका गर्भवती भएकी थिइन् ।

निहारिकाका अनुसार श्रेष्ठले गर्भ फाल्न दबाव दिएका थिए । उनले गर्भ नफाल्ने अडान लिएपछि श्रेष्ठ वेपत्ता भएका थिए । झण्डै सात महिनाअघि प्रहरीमार्फत अदालतमा हाजिर भएका श्रेष्ठलाई सुरुमा अदालतले थुनामा पठाए पनि पछि सफाइ दिएको थियो ।

श्रेष्ठलाई सफाइ दिएको विरोधमा निहारिकाले ‘अब पनि न्याय दिने कि नदिने ?, अपराधीलाई कारबाही गर, सफाइ दिनेमाथि कारबाही गर, मेरो बच्चालाई न्याय चाहियो’ जस्ता नारा लगाएकी थिइन् ।

महिला अधिकारकर्मी सविता यादव, कल्याणी चौधरी पनि प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले अदालतले पीडितलाई झन् पीडित र पीडकलाई झन् शक्तिशाली बनाएको टिप्पणी गरे ।

निहारिकाले आफ्नो बच्चाको काठमाडौंमा उपचार गराइरहेकी थिइन् । सरकारी वकीलले सोमबारको पेशी सारिदिने भन्दै आउनुपर्दैन भनेपछि उनी आएकी थिइनन् । तर सोमबारको पेशी सरेन र अदालतले श्रेष्ठलाई सफाइ दियो ।

फैसला सुनेपछि निहारिका छोरा लिएर जनकपुरधाम आएकी थिइन् । श्रेष्ठ छुटेपछि आफूले झन् कलंकित महसुस गरेको उनले बताइन् ।

‘श्रेष्ठले पैसा लिएर गर्भ फाल भनेको टेलिफोन रेकर्डसहित सबै प्रमाण अदालतमा दिएकी थिएँ । तैपनि मैले न्याय पाइनँ’ उनले भनिन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत