राजनीति

थापाले राप्रपा पार्टी छाड्ने घोषणा गर्नु राजनैतिक रुपमा आत्महत्या : पाठक

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु राजनैतिक रुपमा आत्महत्याको बाटो राेज्नु भएकाे बताएका छन् ।

थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

पाठकले गाउँसहरसँग कुरा गर्दै भने- हिजोको बैठकसम्म नेता कमल थापाको यस्तो निर्णय आउने छनक थिएन । हामीले भनेका थियौँ ,पार्टीभित्र नै संघर्ष गरौँ, समय आउँछ भनेर तर उहाँले मान्नुभएन । लाखौँ कार्यकर्ताको भावना विपरीत उहाँले कदम चाल्नु भएको छ जुन दुर्भाग्यपूर्ण छ । 

उनले पार्टी छाेडेर थाल्ने नयाँ बाटाे सफल नहुने पाठकले दाबी गरे । 

'यो सफल हुँदैन । यस्ता प्रयास विगतमै असफल भइसकेका छन् । राप्रपा शप्रतिशत राजावादी र हिन्दूवादीहरुको पार्टी हो । पार्टीलाई यहाँसम्म ल्याउन उहाँकाे मेहनतलाई अवमूल्यन गर्न सकिँदैन । उहाँलाई पार्टीले रोक्न नसक्नु पनि दुखद नै हो । फेरिपनि एकता सहमती र सहकार्यको विकल्प छैन' पाठकले भने ।

गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए । उनले पूर्वराजाको हस्तक्षेपत्रको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष राजेन्द्र लिङ्देनलाई ध्यानाकर्षण पनि गराएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत