स्वास्थ्य

जादु..! स्वाट्टै घट्याे काेराेना संक्रमण, जनस्वास्थ्यविद् के भन्छन् ?

काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोनाभाइरसको प्रभाव जादु.. जस्तै स्वाट्टै घटेको छ । तथ्याँकले यहि भन्छ । के यो सत्य हो ? यसका पछाडि केहि कारण त छैनन् ? जनजनको मनमा अहिले उब्जिएको प्रश्न हो । यसै सेरोफेरोमा गाउँ सहर डटकमले केहिदिनको तथ्याँक विश्लेषण गरेको छ ।

गत माघ ५ गते परीक्षण गरिएका कुल २३ हजार ४०९ नमूनामध्ये ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको थियो । यसमा ९ हजार ५०२ पिसिआर र ५ हजार ३३१ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसपछि माघ ८ मा कुल परीक्षण गरेकामध्ये आधा भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । जुन यो वर्षको सबैभन्दा उच्च संक्रमण रेकर्ड थियो । त्यसयता विस्तारै संक्रमितको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याँकले देखाउँछ ।

त्यति उचाे भएकाे संक्रमण दर माघको १३ गते सम्ममा पनि देशभर ९० हजार ५७६ सक्रिय संक्रमित थिए, जुन दिन १५ जनाले ज्यान गुमाएका थिए । तर माघको २४ गते देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ मा खुम्चिएको छ भने सो दिन ११ जनाले ज्यान गुमाउनु परेको छ । सो दिन सम्ममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८२७ छ ।

देशमा अहिलेसम्म् पिसिआर परीक्षणबाट ९ लाख ६७ हजार ४२६ र एन्टीजेन परीक्षणबाट १ लाख ३४ हजार ८३२ जनामा संक्रमण पहिचान भएका छन् भने निको हुनेको संख्या ९ लाख १५ हजार ४८९ रहेको छ ।

पौष महिनामा ओमिक्रोन भेरिअन्टका कारण ह्वात्तै उचो भएको कोरोना संक्रमण दर माघको अन्त्यसम्ममा धेरै निचो देखिएको छ । यसले के देखाउँछ भने कोरोना संक्रमण घटेको छ, मृत्यु संख्या घटेको छ र खोपको प्रभावकारीता बढेको प्रष्ट्याउँछ । धेरै हदसम्म स्वास्थ्य मापदण्डले नै काम गरेको पनि भन्न सकिन्छ । याे भनाइ सामान्यस्तरमा छ ।

तर स्वास्थ्य मन्त्रालयको तथ्याँकले दैनिक संक्रमित हुने संख्या घटेको देखाए पनि जटिल समस्या लिएर अस्पताल जाने बिरामीको संख्या घटेको छैन । आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या क्रमशः बढिरहेको अस्पतालहरुको तथ्याँकले देखाउँछ ।

जनस्वास्थ्यविद्हरु नेपालमा कोरोना संक्रमित घट्दै जानुका मुख्यतः चार कारण औंल्याउँछन् । जस्तैः पहिलो– संक्रमितहरु परीक्षणको दायरामै नआउनु, दाेस्रो– अधिकांश व्यक्तिहरु संक्रमित भइसक्नु, तेस्रो– संक्रमण उच्च विन्दुमा पुगेर ओरालो झर्नु र चौथो– एउटै भेरियन्टको व्यापकता र जनस्वास्थ्य मापदण्डको पालना ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले संक्रमित संख्या अहिले स्थिर रहेको तर्क गर्छन् । दुई हप्ता अगाडि लक्षण लिएर अस्पताल आउने संख्या उच्च रहेकामा हाल कम हुँदै गएको डा. पुन बताउँछन् ।

जनस्वास्थ्यविद्हरु संक्रमण घट्दै गएपनि अबको दुईहप्ता अस्पतालको चाप नघट्ने बताउँछन् । संक्रमित भएकामध्ये दीर्घरोगी तथा खोप लगाएका मानिसहरु अस्पताल भर्ना भइरहेकाले अझै दुई हप्ता ढुक्क हुन नसक्ने उनीहरुको भनाइ छ ।

गाउँ सहर डेस्क

तपाईँको मत