शिक्षा

विद्यालयकाे नयाँ शैक्षिक सत्र वैशाखमा

काठमाडौं । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुने भएको छ ।

कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैत/वैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ । “आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइनुपर्छ । त्यसो भएमा बाँकी कोर्स पनि पूरा हुनेछ” उनले भने, “आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थाल्नुपर्छ ।”

उनले शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलनलाई समय परिस्थितिअनुसार निरन्तरता दिनुपर्छ भन्ने छैन भन्दै थप्नुभयो, “चैत मसान्तसम्म विद्यार्थीलाई नअल्मल्याऔँ । पढ्न दिऊँ । छिटो विधिबाट सबै काम वैशाखमै सकौँ ।” विद्यालयहरूले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइनमाध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आगामी चैतको अन्तिम सातासम्ममा बाँकी कोर्स सक्न समस्या नहुने बताए । “वार्षिक परीक्षा आगामी चैतको अन्तिम सातामा लिएर वैशाखको पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न समस्या हुँदैन” –उनले भने ।

गाउँ सहर संवाददाता

तपाईँको मत