अर्थतन्त्र

बलेफी हाईड्रोपावरले आईपीओ विक्री गर्ने मिति ताेक्याे

काठमाडाैं । बलेफी हाईड्रोपावर कम्पनीकाे आईपीओ बिक्री खुला हुने भएकाे छ । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हाे । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको जनाएकाे छ ।

कम्पनीले स्थानियमा प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि विक्री खुला  गर्ने भएकाे छ । स्थानियले छिटोमा  फागुन १२ गतेसम्म यो आईपीओ खरिदका लागि आवेदन दिन सक्ने  कम्पनीले जानकारी दिएकाे छ । 

उक्त अवधिभित्र माग बमोजिम  आवेदन नपरेमा भने ढिलोमा फागुन २७ गतेसम्म यो आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ । कम्पनीले स्थानियलाई आईपीओ विक्री पछि सर्वसाधारणमा पनि १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत