वातावरण

मौसमी प्रणालीमा बदलीका कारण वर्षा र हिमपात हुनुका साथै चिसाे बढ्ने

 

काठमाडाैं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भागमा सामान्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

आज बुधबार रातिदेखि यसको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरि सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिन्छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, मधेस , बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम आंशिक बदली रहनेछ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीदेखि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ ।

मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहनेछ ।

पहाडी भू-भाग तथा तराईका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेछ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत