राजनीति

सत्ता साझेदार दलहरूबीच भेटघाट बाक्लिँदै : आशंका मेट्ने, गठबन्धन नछुट्ने उपायकाे खाेजीमा

फाइल तस्बिर

काठमाडौं । पछिल्लाे समय सत्ता साझेदार दलहरूबीच भेटघाट र छलफल बाक्लाे हुन थालेकाे छ । शनिबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी अनुमोदन गर्ने शर्तमा मात्रै गठबन्धन कायम राख्ने शर्तले नयाँ तरंग पैदा भइरहेको छ । 

यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरूबीच भएको भेटवार्तामा पछिल्लो समयको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । 

 

सोमबार बालुवाटार पुगेका प्रचण्ड र माधव नेपाल ले प्रधानमन्त्री देउवासँग एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेकाे बुझिएकाे छ । 

 

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विवाद चलिरहेको बेलामा तीन शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

तीन नेताबीचको छलफलमा एमसिसी र स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको बुझिएको छ । छलफलमा सरकारका प्रवक्तासमेत रहेको सञ्चार ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए । 

आउँदो जेठभित्र स्थानीय तह निर्वाचन गर्ने विषय सत्ता गठबन्धन दलभित्र यसअघि नै सहमति जुटिसकेको छ। तर, एमसीसीका विषयमा भने गठबन्धन दलहरूबीच मतभिन्नता छन्।

 

प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन चाहेका छन् भने प्रचण्ड र नेपालले नमानेको बताइएको छ। एमसीसीकै कारण सत्ता गठबन्धन टुट्नसक्ने टिप्पणी भइरहेपनि नेताहरूले यसलाई अस्वीकार गरेका छन्। 

आइतबार मात्रै सञ्चारमन्त्री कार्की प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका थिए । एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ । 

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्‍बाट पारित गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए । 

उनले ट्वीटरमा लेखेका छन्, 'एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !' एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा जोड दिए ।

शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल भएको थियो । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले फेब्रुअरी १ तारिखसम्म जसरी पनि अनुमोदनको पक्रिया अगाडि बढाउन भनेर अमेरिकीहरुले दबाब दिन थालेको भनेर 'ब्रिफिङ' गरेका थिए । 

बैठकमा सहभागी नेताहरुका अनुसार आइतबार (माघ १६ गते) बस्ने प्रतिनिधि सभाको बैठकमै एमसीसी परियोजना पेस गर्ने देउवाको चाहना थियो । तर, शनिबार साँझ नै संघीय संसद् सचिवालयले सूचना टाँस गरी १० दिनका लागि संसद बैठक स्थगित गर्‍यो । 

देउवाले एमसीसी अनुमोदनको प्रक्रिया अगाडि बढाउन जोड दिइरहेका बेला संसद् वैठक स्थगित हुनुलाई सत्तारुढ गठबन्धनमा फाटो आएको संकेतका रुपमा पनि केहीले हेरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत