विश्व

कोरोना खोप अनिवार्य गरेपछि क्यानडामा विराेध प्रदर्शन, घर छाडेर हिँडे प्रधानमन्त्री

  • एजेन्सी
  • १७ माघ सोमबार, २०७८ | ०८:३६:०० मा प्रकाशित

काठमाडाैं । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ ।

ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन् । राजधानी ओटावामा 'फ्रिडम कन्भोई' भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन् ।

प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन ।

क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् ।

सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन् ।

कतिपय प्रदर्शनकारीहरूले उक्त निर्णय हटाइए पनि देशव्यापी रूपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखिरहेका छन् ।

प्रधानमन्त्री ट्रुडोले यसै साताको सुरुमा एउटा पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरूलाई "सानो सङ्ख्याका अल्पसङ्ख्यक" भनेका थिए ।

ट्रुडोको लिबरल सरकारले ज्यानुअरी १५ तारिखमा खोपसम्बन्धी एउटा आदेश जारी गरेको थियो ।

त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ ।

अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ ।

एजेन्सी

तपाईँको मत