गाउँ सहर

राजश्व छली मुद्दामा २५ हजार रुपैयाँ धरौटी बुझाएर ११ महिनापछि जेलमुक्त भए उमाशंकर

काठमाडौं । राजस्व छली मुद्दामा पक्राउ परेका उमाशंकर रायभर सर्वोच्च अदालतको आदेशानुसार २५ हजार रुपैयाँ धरौटी बुझाएर ११ महिनापछि थुना (जेल)मुक्त भएका छन् ।

अर्कैले नागरिकता दुरुपयोग गर्दा २८ करोड रुपैयाँ राजस्व छलीको अभियोग लागेका उमाशंकरसँग उच्च अदालत पाटनले ७५ लाख धरौटी माग गरेपछि उनले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।  

सर्वोच्च अदालतले शुक्रबार उनलाई सामान्य धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

राजस्व छलीको मुद्दाको थुनछेक आदेशमा माग भएको धरौटी रकम तिर्न नसकेर नख्खु कारागारमा रहेका उनी सर्वोच्चको पत्र उच्च अदालत पाटनमा पेस भएपछि तारेखमा रिहा भएका हुन् । उनलाई अभियुक्त बनाइएको राजस्व अपचलनको मुद्दा भने उच्च अदालतमा विचाराधीन रहेको छ । 

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले कर छलीमा रायभरको संलग्नता नदेखिएको र उनको नाममा अर्कै व्यक्तिले लाभ लिएको देखिएको ठहर गर्दै सामान्य धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

 

सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका थिए । जागीर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपीसहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका हुन् । 

७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर रायभर गत वर्ष फागुन १९ देखि ललितपुरको नख्खु कारागार चलान भएका थिए । त्यसपछि उनी आफूलाई थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च आएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत