राजनीति

‘हामी चुनावबाट डराएका छैनौं, गठबन्धन तोड्न खोज्नेहरुले भ्रम छरिरहेका छन्‘ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भए पनि निर्वाचनको सामना गर्न आफूहरू तयार  रहेको बताएका छन् । शनिबार पार्टी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरु जुनसुकै बेला चुनावमा जान तयार रहेको बताए ।

एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने– ‘हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् । हामी चुनावसँग आत्तिएका छैनौं । वैशाख, जेठ, असार या असोजमा चुनाव गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको निर्वाचन पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रीय वा प्रदेश सभाको चुनाव पहिले हुन्छ भने पनि हामी सामना गर्न तयार छौं’, उनले भने, ‘जनतामा जाने कुरालाई हामी सहज, स्वभाविक र अझ खुसी पनि हुन्छौं ।‘

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनको मितिका बारेमा गठबन्धनबीच छलफल चलिरहेको भन्दै जुनसुकै मितिमा भए पनि निर्वाचनको सामना गर्न तयार रहेको बताएका हुन् । यसअघि स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई टेकेर आगामी निर्वाचनको मिति तय गर्ने भन्ने बिषयमा छलफल चलिरहेको उनको भनाइ छ ।

उनले २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भन्दै कुन निर्वाचनलाई आधार मान्ने भन्ने विवाद रहेको बताए । ‘तीन चरणमा चुनाव भएको हुनाले पहिलो चरणलाई आधार मान्ने कारण के? यो बुझ्न सकिएको छैन । जबकि, वैशाखलाई आधार मान्ने हो भने असोजमा भएको चुनावबाट निर्वाचित भएका व्यक्तिहरुले पाँच वर्षे अवधि पूरा गरेका हुँदैनन् । त्यसलाई कुन वैधानिक आधारमा पुष्टि गर्न सकिन्छ? कुन तर्कको आधारमा पुष्टि गर्न सकिन्छ ? त्यो बुझ्न सकिएको छैन‘, उनले भने ।

कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुँदै गएको बताए । राष्ट्रियसभा चुनावमागठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जित हासिल गरेको भन्दै उहाले आगामी दिनमा कलम चिन्ह बलियो हुने र सूर्य चिन्ह कमजोर हुदै जाने दाबी गरे । त्यस्तै अध्यक्ष नेपालले पार्टीसंगै पार्टी अन्तर्गतको संगठनलाई पनि बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे ।

उनले आफूहरुको नेतृत्वमा वाम-लोकतान्त्रिक गठबन्धन र एमालेको नेतृत्वमा दक्षिणपन्थी गठबन्धन रहेको बताए ।

‘वाम-लोकतान्त्रिक गठबन्धनमा कम्युनिस्ट पार्टीको रुपमा हाम्रो पार्टी, माओवादी, राष्ट्रिय जनमोर्चा र वाम पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी छ । लोकतान्त्रिक शक्तिको रुपमा रहेको नेपाली कांग्रेस। यो गणतन्त्रको पक्षमा आन्दोलनमा उत्रिएको थियो । लोकतन्त्रको पक्षमा आन्दोलनमा उत्रिएको थियो । यी पार्टीहरु सहित वाम र लोकतान्त्रिक शक्तिहरु एकतिर उभिएका छन्’, उनले भने ।

केपी ओलीको नेतृत्वमा रहेको र दक्षिणपन्थी भासमा भासिँदै गएको नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी र त्यसपछि अरु त्यस्तै खालका शक्तिहरु नजिक पुग्दै गइरहेको उनले बताए। ‘दरबारिया शक्ति राप्रपा पनि त्यतै टाँसिन पुगेको छ’, उनले भने, ‘दक्षिणपन्थी शक्तिहरु एकतिर उभिएका छन्। वाम र लोकतान्त्रिक शक्तिहरु अर्कोतिर उभिएका छन्। यसर्थ नेपालको राजनीतिमा दुइटा गठबन्धन देखापर्‍यो।‘

राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धन देखिएको अध्यक्ष नेपालको भनाइ छ । ‘हिजोसम्म एक्लै पार लगाउँछु भनेर उफ्रिनेहरु जब राष्ट्रिय सभाको चुनाव आयो, ठ्याक्क दक्षिणपन्थी शक्तिहरुसँग अंकमाल गर्न पुगे । तर सफल हुन सकेनन् । पराजयको सामना गर्नुपर्‍यो’, उनले भने । 

उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे । शनिबार गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेताहरुले गठबन्धन निर्वाचनसम्म नै कायम रहने आश्वासन दिएको र प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यसमा सकारात्मक रहेको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत