राजनीति

राष्ट्रियसभा सदस्य १९ पदका लागि मतदान जारी, आजै नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडाैं । राष्ट्रिय सभाको सदस्य १९ पदका लागि मतदान भइरहेकाे छ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमार्फत बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएकाे छ । बुधबार ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन भइरहेकाे छ ।

आयोगले प्रदेश १ मा दुई र अन्य प्रदेशमा एकएक मतदानस्थलभित्र दुईदुई वटा मतदान केन्द्र बनाएको छ। आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखले प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ ।

प्रदेश २ मा महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदान हुँदैछ ।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो। १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनको लागि प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी कुल दुई हजार २५ जना मतदाता रहेका छन् । मतदातामध्ये पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ ।

 चुनावको नतिजा आजै सार्वजनिक गर्ने आयोगले बताएकाे छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत