राजनीति

त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पार्टी महासचिवमा वर्षमान पुनकाे दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी गरेका छन् । चीनमा स्वास्थ्य उपचार गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लनासाथ उनले महाचसिवकाे दाबी गरेका हुन् ।

चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वाभाविक भएको टिप्पणी गरे ।

 

केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनले बताए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनले बताए । तर, सकेसम्म सहमतिबाटै महासचिव छानिने उनले बताए ।

नेता पुनले भने, 'सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुंगो लगाउनेछ ।'

एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भएता पनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए । 

पूर्वमन्त्री पुनले भने, 'प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेको छ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस्। लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।' 

नेता पुनले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताए ।

आफ्नो उपचारमा पार्टीले सहयोग गरेको भन्दै उनले धन्यवाद दिए । बैंककबाट चीनमा उपचार गर्न लगेको आफूले चीनकै अस्पतालमा पुगेपछि बल्ल थाहा पाएको बताउँदै उनले पुनर्जीवन पाएको बताए ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत