राजनीति

राष्ट्रियसभा निर्वाचन मौन अवधि सुरु, कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न र मत माग्न नपाइने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको हाे । 

आइतबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्नलगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले आइतबार नै वक्तव्य जारी गर्दै आग्रह गरिसकेको छ ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

उमेदवार र राजनीतिक दलहरूको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि रोक लगाइएको छ ।

मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ । साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।

प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन पदका लागि निर्वाचन हुने छ ।

सातै प्रदेशमा कुल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत