राजनीति

निर्वाचन आयोगको निर्देशनपछि राप्रपाले अब के गर्छ ?

काठमाडौँ । निर्वाचन आयोगको निर्देशनका सम्बन्धमा छलफल गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ ।

आयोगले राप्रपाको आधारभूत मान्यता राजसंस्था र हिन्दू राष्ट्र विधानबाट हटाउन निर्देशन दिएपछिको अवस्थाबारे छलफल गर्न सोमबारका लागि पदाधिकारी बैठक बोलाइएको उसले बताएकाे छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताए ।

आयोगले हालै राप्रपालाई पत्र लेख्दै विधानमा उल्लेख भएको राजसंस्था र हिन्दू राष्ट्र भन्ने शब्द सात दिनभित्र झिकेर ल्याउन भनेको छ ।

आयोगले राप्रपालाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दू राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु होला ।’

यसअघि पनि निर्वाचन आयोगले राप्रपालाई विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्देशन दिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत