स्वास्थ्य

बजारमा सिटामोलको चरम अभाव

काठमाडाैं । कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । त्यस क्षेत्रमा जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ १ गते १२ बुँदे आदेश जारी गरिसकेको छ । एकै ठाउँमा २५ भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १२ बुँदे जारी आदेश पालना भएको छैन ।

वीरेन्द्रनगरमा बिहीबार मात्र १३७ कोरोना परीक्षण गर्दा १०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार बिहीबार कर्णालीमा ३२७ मा गरिएको कोरोना परीक्षणमा ११२ मा सङ्क्रमण पुष्टि भएको छ ।

बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधि लगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ । यही अवस्थालाई मध्य नजर गर्दै जिप्रकाले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधि सप्लायर्स पसलको आकस्मिक अनुगमन गरेको थियो ।

सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईंको नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधि सप्लायर्सका पसल अनुगमन ग¥यो । यसक्रममा बजारमा सिटामोलको अभाव भएको पाइएको छ । “अनुगमन गर्दा राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सजिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्राण्डको औषधि नै भेटिएन”, प्रशासकीय अधिकृत चौलागाईंले भन्नुभयो, “दुवै सप्लायर्समा मात्र कोडोपार ब्राण्डको औषधि छ जुन सिटामोलको मूल्यभन्दा रु पाँच बढी पर्छ ।” सिनर्जी फार्मेसीमा भने २८३ स्टिमअर्थात् दुई हजार ८३० ट्याब्लेट सिटामोल पाइएको उनले जानकारी दिएका छन् ।

केडी फार्मेसीका प्रोपाइटर दानबहादुर रोकायले सिटामोल बजारमा प्रतिट्याब्लेटको मूल्य रु १ हुँदा कोडोपार रु ६-७ मा बजारमा बिक्री हुने गरेको बताए । मिश्रित आइटमले कोडोपार अलि बढी मूल्य तर सिटामोल कम मूल्यको भएकाले मूल्यकै कारण उत्पादक कम्पनीले नै बजारमा सिटामोलको अभाव देखाएको प्रोपाइटर रोकायले बताएका छन् । “कोडोपारमा प्यारासिटामोल र कोडिन फस्टेड मिश्रित हुन्छ”, उनले भने, “सामान्यतः ज्वरो आउँदा, टाउको दुःख यही औषधि प्रयोग गरिन्छ ।” प्रोपाइटर रोकायका अनुसार सिटामोल ब्राण्डको औषधि कोरोनाको दोस्रो लहरबाट आउन छोडेको छ । सिनर्जी फार्मेसीका सुपरभाइजर सुमन केसीले आफूहरुसँग थौरै मात्रामा सिटामोल ब्राण्डको औषधि भएको र पछिल्लो समयमा कम्पनीबाट आउन छोडेको बताए ।

औषधि सप्लायर्ससँग सिटामोल नहुनुले कर्णालीमा यसको चरम अभाव देखिएको छ । सिटामोल अभावले भने उपभोक्ता एवं बिरामी छ गुणा बढी रुपैयाँ तिरेर कोडोपार औषधि किन्न बाध्य छन् । बजारमा औषधिको मौज्दात, बिक्री अवस्था के छ र सिटामोल नआउनुको कारण के हो ? भन्ने जानकारी लिन अनुगमन गरिएको प्रशासकीय अधिकृत चौलागाईंले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत