प्रविधि

प्रहरीले मोबाइल चोरेपछि...

काठमाडाैं । प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको छ । कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको हाे । लागू औषधको कारोबार भइरहरेको सूचनाको आधारमा बिहीबार ग्यालरी पुगेको प्रहरीको टोलीका एक जनाले मोबाइल चोर्दै गरेको भिडियो पसलको सिसीटिभीमा कैद भएको छ ।

धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट ती प्रहरीले मोबाइल चोरी गरेको पसल सञ्चालक सुवास रावलले जानकारी दिएका छन् । मोबाइलको खाली डब्बा देखेपछि सिसी टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको उनले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियोसहित नै निवेदन आएपछि सोबारे छानबिन भइरहेको बताए । उनले घटना संलग्न प्रहरी हवल्दार होम बहादुर माल र प्रहरी जवान भरत सिंह बडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले निजहरुबाट मोबाइलसमेत बरामद गरिएको जानकारी दिए । बिहीबार प्रहरीले ग्यालरीबाट लागु औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत