सडक/यातायात

काठमाडाैं, भक्तपुर र ललितपुरमा शुक्रबार रातिदेखि जोर बिजोर लागू

काठमाडाैं । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेको हो ।

यो आदेश भक्तपुर र ललितपुरमा पनि लागू हुने प्रशासनले जनाएको छ । ललितपुर प्रशासनले पनि काठमाडौं प्रशासनको जस्तै आदेश जारी गरेको छ ।

आदेश जारी गर्नुअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले बिहीबार यस्तो आदेश जारी गरेको हो ।

आदेश शुक्रबार राति १२ बजेदेखि लागू हुने काठमाडौंकी निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन् ।

अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि यो आदेश जारी गरिएको उनले बताइन् ।

 

 

यसैगरी, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य, सेनिटाइजरको वव्यवस्था, चालक र सहचालकले फेस सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्ने, मासस्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश नदिने प्रशासनको आदेशमा उल्लेख छ ।

आदेश औषधी, स्वास्थ्य सामग्री बोक्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास तथा पेट्रोलियन पदार्य बोकेका साधन, पशुपन्छीका दाना, अण्डा, फलफूल, खाद्यान्न, तरकारी र माछामासु बोकेका साधनबाहेकमा लागू हुने छ ।

लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरूदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने, यात्रुहरूको विवरण जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउनुपर्ने छ ।

यस्तै, आदेशमा लामो दुरीमा चल्ने यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण व्यवस्था मिलाउन भनिएको छ ।

आदेशमा आसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, महोत्सव, स्वीमिङ पुल, हाटबजार लगायत बन्द हुनेछन् ।

शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठन-पाठन गराउन पाइने छैन। विश्वविद्यालय, विद्यालयका परीक्षा, भर्नालगायत सबै किसिमका परीक्षा गराउन पाइने छैन ।  

गाउँ सहर संवाददाता

तपाईँको मत