खेल

एपीएफले नेपाल पुलिसलाई हराउँदै प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि चुम्याे (फाेटाेफिचर)

  • ५ माघ बुधबार, २०७८ | १५:४१:०० मा प्रकाशित

काठमाडौं । नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो ।

उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप-विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ । सेमिफाइनल पुगेका आर्मी र बागमती प्रदेशले ५०/५० हजार पाएका छन् । 

टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले पुरस्कृत गरे ।

यस अघि एकदिवसीय फर्म्याटमा हुँदै आएको पीएम कप यस पटक भने टी-ट्वान्टी फर्म्याटमा भएको हो । 

ओमानमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता गर्न गरेको हो ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

आसिफ बने उत्कृष्ट खेलाडी

 

च्याम्पियन टोली एपीएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।

एपीएफलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका आसिफ उत्कृष्ट बनेका हुन् । उनले प्रतियोगितामा कुल ६ खेल खेल्दै सर्वाधिक २२७ रन बनाए । जसमा २ अर्धशतकसमेत सामेल थियो ।

आसिफले प्रतियोगितामा सर्वाधिक १४ छक्का प्रहार गरेका थिए । यस्तै एपीएफकै ओपनिङ जोडी प्रदीप ऐरी र उनले सर्वाधिक २४-२४ चौका प्रहार गरेका थिए ।

उत्कृष्ट खेलाडी वापत आसिफले नगद ३० हजार नगद प्राप्त गरे ।

यस्तै नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनी प्रदेशका युवा स्पीनर अनिल खरेल उत्कृष्ट बलर घोषित भएका छन् ।

समूह चरणमा गरेको प्रदर्शनका आधारमा यो अवार्ड दिइएको हो । अस्वस्थ भएपछि सेमिफाइनल र फाइनल गुमाएका पुलिसका कुशल भुर्तेलले समूहको चार खेलमा एक अर्धशतकसहित १८२ रन बनाएका थिए ।

यस्तै लुम्बिनीका अनिलले समूहको चार खेलबाट १० विकेट लिएका थिए । उनले प्रदेश २ विरुद्ध ५ र गण्डकीविरुद्ध चार विकेट लिएका थिए ।

कुशल र अनिल दुवैले समान २० हजार प्राप्त गरे ।

तस्बिरहरू- क्यान

तपाईँको मत