गाउँ सहर

इजरायलमा नेपाली कामदारलाई राेजगारीकाे अवसर, बुधबार ९९ जना कामदार जाँदै

काठमाडाैं । ६ वर्षपछि नेपाली कामदारले इजरायल रोजगारीमा जाने माैका प्राप्त गरेका छन् । बुधबार रोजगारीका लागि ९९ जना नेपाली श्रमिक इजरायल जाँदैछन् ।

इजरायल उड्ने तयारीमा रहेका एक सय २५ कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि ९९ जना मात्रै इजरायल जान लागेकाे वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारले जानकारी दिएका छन् । 

हालसम्म इलरायल सरकारले ९ सय ९४ नेपाली कामदारसँग रोजगारीको सम्झौता गरेको छ। ती कामदारलाई क्रमशः इजरायल पठाइने विभागले जनाएको छ ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सयजनाको अन्तिम छनोट गरिसकेको छ । जसमा ७० प्रतिशत महिला छन् ।

दोस्रो चरणमा १४ र १५ माघमा एक सय ६२ जना इजरायल उड्ने विभागले जनाएको छ ।

दोस्रो चरणमा इजरायल जाने कामदारले गत साउन ३१ गतेपछि कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने शर्त इजरायल सरकारको छ । यस्ता कामदारले मात्रै हवाई टिकट खरिद र पूर्वअभिमुखीकरण कार्यक्रम लिन सक्नेछन् । इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ ।

इजरायल र नेपाल सरकारबीच ०७२ साउनमा केयर गिभरमा नेपाली कामदार पठाइने श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार सरकारीस्तरमा श्रम सम्झौता (जिटुजी) भएको थियो । तर, सम्झौता भएको एक वर्ष पूरा नहुँदै इजरायल रोजगारी रोकिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत