विद्युतीय सवारी चार्जिङका लागि घरमा छुट्टै मिटरकाे व्यवस्था गर्न सकिने
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १२:२८:०० मा प्रकाशित
काठमाडाैं । विद्युतीय गाडी प्रयोग गर्ने उपभोक्ताहरुले आफ्नै घरमा छुट्टै मिटर राख्न पाउने भएका छन् । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरूले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली,२०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गत पुस २० गतेको ८९२ औं बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत् खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत् वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताएका छन् ।
विनियमावली मार्फत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीतिहरु कार्यान्वयनमा ल्याएको छ । निजी आवास, कार्यालयहरु, फर्म/कम्पनी/संस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय/फर्म/व्यक्ति/कम्पनीलाई अनुमति दिने छ ।
मुख्य–मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थाहरुलाई प्राथमिकता दिइनेछ ।
नेपाल सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइने व्यवस्था समेत गरिएको छ । सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था गरिएको छ ।
विनियमावलीमार्फत सार्वजनिक चार्जिङ स्टेसनको प्रवद्र्धनका लागि विशेष व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘दुई सय केभिएसम्मको विद्युत डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफरर्मर सहितको विद्युत सेवा प्रवाह गर्नेछ ।
त्यो भन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफरमर जडान लगायतका बाँकी काम सेवाप्रदायकले नै गर्नुपर्नेछ,’ उनले भने । चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत महसुल समेत लागु भइसकेको उनले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस