गाउँ सहर

पशुपतिनाथलगायतका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र, मनकामना मन्दिर जान नपाइने

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ ।

काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् । त्यसबाहेकका पूजापाठ हुने छैन ।

पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ ।

आगामी शुक्रबारदेखि मनकामना मन्दिर जान नपाइने

मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ ।

देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘कोरोना सङ्क्रमणदर दिनानुदिन बढ्दो छ’, अध्यक्ष जोशीले भने, ‘मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण झनै फैलनसक्ने जोखिमपछि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।’

उनले माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको जानकारी दिए। बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने अध्यक्ष जोशीले बताए । ‘शुक्रबारदेखि मन्दिर आउने जोकोहीले मन्दिर बाहिर रहेको बारबाट मन्दिरमा रहेका सहयोगीमार्फत मात्र पूजाआजा गर्न पाउँछन्।’, उनले भने, “मन्दिरभित्र पसेर भने पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ ।’

मनकामना मन्दिरमा अहिले पनि दैनिकरूपमा पाँच हजारभन्दा बढी भक्तजन मन्दिरमा दर्शनका लागि पुग्ने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए।

गाउँ सहर संवाददाता

तपाईँको मत