राजनीति

वैशाखमा स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धन सहमत, बिहीबारकाे मन्त्रिपरिषद्ले मिति ताेक्न सक्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरु आउँदो वैशाखमा स्थानीय तह निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

छलफलपछि जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको बताए । 

“संवैधानिक समयभित्र स्थानीय तहको चुनाव गर्ने सहमति भएको छ । स्थानीय तहको चुनावको मिति पार्टीभित्र छलफल गरेर शीर्ष नेताहरूको बैठकले तय गर्ने र क्याबिनेटले निर्णय गर्नेछ,” उनले भने ।

तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए ।

‘निर्वाचन समयमा नै सम्पन्न हुन्छ। संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा दलहरु सहमत छन्,’ कार्कीले भने, ‘निर्वाचन आयोगसँग परामर्श भइरहेको छ। फेरि परामर्श गरेर संविधानले तोकेकै समयमा चुनाव गरेर संघीयतालाई मजबुत बनाउँदै अघि बढ्ने दिशामा सरकार गम्भीर छ ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।

अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भएपछि समितिको बैठक बसेको थिएन । दाहाल संक्रमणमुक्त भएपछि बैठक बोलाइएको हो । नेपाल संक्रमणमुक्त नभएकाले उपमहासचिव गंगालाल तुलाधर बैठकमा सहभागी थिए ।

बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

 

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले ९ पुस, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।

निर्वाचनको संवैधानिक र कानूनी पाटो बुझ्न आयोगमा पुगेका महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग पनि आयोगका पदाधिकारीहरुले स्थानीय निर्वाचन वैशाखमै हुनुपर्ने बताएका थिए ।

तर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ पहिलो साता सकिँदैछ । त्यसअघि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रमुख प्रतिपक्ष एमालेले भने स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने भन्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत