राजनीति

नाम र राजधानी टुंगाे लागेकाे खुशियालीमा ‘मधेस प्रदेश’ मा आज सार्वजनिक बिदा

 

काठमाडाैं । मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ ।

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो ।

विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ ।

प्रदेश सभाको जम्मा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू  ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’  प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए ।

यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो ।

जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत