गाउँ सहर

गृह मन्त्रालयद्वारा चार सहसचिव र तीन उपसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ ?

काठमाडाैं । चार सहसचिव र तीन उपसचिवको जिम्मेवारी हेरफेर गरिएकाे छ । गृह मन्त्रालयले चार सहसचिव र तीन उपसचिवको जिम्मेवारी हेरफेर गरेको हाे । मन्त्रालयको जिम्मेवारीमा रहेका सहसचिव र उपसचिव प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी भएर जिल्लामा गएपछि मन्त्रालयमा भएकाहरूको जिम्मेवारी हेरफेर गरिएको जनाइएकाे छ ।

शुक्रबार साँझ गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिव टेकनारायण पाण्डेले जिम्मेवारी हेरफेर गर्ने निर्णय लिएका हुन् । जिम्मेवारी हेरफेर गरिएको पत्र आइतबार मात्रै सहसचिव र उपसचिवहरूले पाएका छन् ।

विपद् अध्ययन जोखिम न्यूनीकरण पुनर्लाभ महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डे काभ्रेको प्रमुख जिल्ला अधिकारी भएर गएपछि रिक्त स्थानमा सहसचिव प्रदीप कोइरालालाई जिम्मेवारी दिइएको छ । कोइराला यसअघि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख थिए ।

आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारी भने शिवराम पोखरेलले पाएका छन् । उनी काभ्रेको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयको जगेडा समूहमा तानिएका थिए ।

नयाँ गठन गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन इकाई प्रमुखको जिम्मेवारी बन्धु बास्तोलाले पाएका छन् । उनलाई धनुषाको प्रमुख जिल्ला अधिकारीबाट तानेर जगेडा समूहमा राखिएको थियो ।

राजेश्वर ज्ञवालीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । त्यहाँ कार्यरत विपिन आचार्यलाई सल्यानको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएपछि खाली थियो । प्रमुख जिल्ला अधिकारी बनाउन भन्दै गृहमा तानिएको भन्दै आलोचना भएका ज्ञवालीले प्रधिकरणमा जिम्मेवारी पाएपछि धेरैले आलोचना गरेका छन् ।

तीन उपसचिव प्रमुख जिल्ला अधिकारी भएर गएपछि रिक्त भएका शाखामा पनि शुक्रबारै जिम्मेवारी तोकिएको छ । गृह मन्त्रालयको सबैभन्दा राम्रो मानिने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको प्रमुखको जिम्मेवारी बसन्त भट्टराईले पाएका छन् । यो शाखाको जिम्मेवारीमा रहेका दिलकुमार तामाङ ओखलढुंगाको प्रमुख जिल्ला अधिकारी भएर गएका छन् ।

 गुनासो व्यवस्थापन शाखाको प्रमुखको जिम्मेवारी विश्वमित्र कुइकेलले पाएका छन् । यो शाखाको प्रमुख रहेका परमानन्द घिमिरे रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए ।

रामदत्त पाण्डेले मानव अधिकार प्रर्वद्धन शाखा प्रमुखको जिम्मेवारी पाएका छन् । उक्त शाखाको प्रमुख रहेका रामहरि शर्मा कालिकोटको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत