गाउँ सहर

अफगानिस्तान पुगेर नेपालले हस्तान्तरण गर्‍याे मानवीय सहायता

काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेकी हुन् । 

नेपाली डेलिगेसन टोली हिमालयन एअरलाइन्सको फला्ईट नं एच ए-५९३१ बाट आज बिहान काबुल प्रस्थान गरेकाे थियो । नौ हजार ७ सय १५ किलो खाना, लत्ताकपडासहितको राहत सामग्री लिएर नेपाली टोली अफगानिस्तानतर्फ गएको हो ।

परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा लम्सालसहितको नेपाली टोलीलाई बिदाइ गरेका थिए । लम्सालको नेतृत्वमा १५ जनाको डेलिगेसन टिममा १७ जना र ९ जना क्रुसहित २६ जनाको टोली छन् । टोली आजै स्वदेश फर्कनेछ ।

अफगानिस्तानमा गत अगष्टमा तालिवानले सत्ता आफ्नो हातमा लिएपछि त्यहाँ आर्थिक तथा मानवीय संकट उत्पन्न भएको छ । अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ ।

संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेको थियो । सोही अनुरोधपश्चात नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघलगायतका निजी क्षेत्रहरुको अग्रसरतामा संकलन भएको सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान पुगेको हो । टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिका साथै पत्रकारहरुसमेतको सहभागिता रहेको छ ।

नेपाली टोलीले संयुक्त राष्ट्रसंघले दिएको सूचीअनुसार औषधि, घरायसी सामग्री र लत्ता कपडा गरेर करिब १४ टन बराबर सामान अफगानिस्तान लिएको गएको थियो । नेपाली टोली हिमालय एयरलाइन्सको जहाजबाट अफगानिस्तान प्रस्थान गरेको थियो । टोली आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत