गाउँ सहर

पशुपतिको धर्मशाला निरीक्षणपछि पर्यटनमन्त्री आलेले भने : सत्यतथ्य बुझेपछि निर्णय लिन्छु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न पुगेका छन् । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज (आईतबार) बिहान निरीक्षणमा पुगेका हुन् ।

निरीक्षणपछि  संक्षिप्त कुराकानी गर्दै मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताए । 

 ‘धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरोजस्तो छ, म त सक् भएँ’ आलेले प्रतिक्रिया दिए । 

 

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए । 

महँगो भाडा लिएर होटल सञ्चालन भएको भन्ने कुरा आएपछि आफू यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको स्पष्ट पारे । सबै कुरा बुझिसकेपछिमात्रै आफूले आवश्यक निर्णय लिने उनको भनाई छ ।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ भन्ने कुरा बाहिर आएको छ ।

आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए । 

गाउँ सहर संवाददाता

तपाईँको मत