स्वास्थ्य

आजबाट बुस्टर डोज खोप दिइने, क-कसले पाउँदैछन् लगाउन ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो । 

खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् । यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घ संस्था, बैंकिङ्ग सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाउने तयारी छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्छन् ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप लगाउनुपर्ने र पहिलेको खोप कार्ड लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो । 

स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई नागरिकलाई बुस्टर डोज दिन निर्देशन दिइसकेको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत