गाउँ सहर

राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि लागू भयाे आचारसंहिता, उल्लंघन गरे कारवाही

काठमाडौं । आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज (सोमबार)बाट आचारसंहिता लागू गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘आचारसिंहताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचारसिंहताको पूर्णरुपमा पालना गर्न–गराउन आयोग सम्पूर्ण सरोकारवालाहरुमा निर्देश गर्दछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

आचारसिंहता तीन तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लागू हुने आयोगले जनाएको छ। त्यस्तै, आचारसिंहता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।

यसैगरी निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालिक विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आचारसिंहता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन र चुनाव चिन्ह प्रदान गरिसकेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत