गाउँ सहर

नेपालमा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढे

काठमाडाैं । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका घटना बढेकाे पत्रकार महासंघले जनाएकाे छ ।

 महासंघका महासचिव रोशन पुरीका अनुसार तुलनात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेका छन् ।

नेपाल पत्रकार महासङ्घकाअनुसार यो वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रह्यो ।

नेपाल पत्रकार महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन् । ६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् ।

यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना भएका छन् । पेशागत असुरक्षा तथा कब्जा र अवरोधका १०–१० वटा घटना भएका छन् । यसैगरी पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ ।

समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार सङ्कलनका क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहार लगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका महासङ्घले जनाएको छ । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको महासङ्घको निष्कर्ष छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत