गाउँ सहर

बस्ती आसपास बाघकाे बिगबिगी, स्थानीय बासी त्रसित

नवलपरासी (बर्दघाट सुस्तापूर्व)  । बस्ती छेउछाउमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास छेउछाउमा बाघ देखिएपछि उक्त क्षेत्रका बासिन्दा त्रसित भएका हुन् । 

दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिएका छन् । दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयवासीले बताएका छन् ।

मंसिर महिनामा मात्रै विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण मृत्यु भएको थियो । अहिले फेरि जङ्गल छेउछाउका बस्ती आसपास बाघ देखिएकाले आफूहरूले रातिको समयमा वन क्षेत्र नजिकका ठाउँमा हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न सबैमा अपिल गरिएको गाउँपालिका अध्यक्ष जिसीले बताए ।

बाघले हालै मात्र मानवीय क्षति र पशु चौपायामा समेत क्षति पु¥याएको हुनाले गाउँपालिकाले यस क्षेत्रमा रहेको बाघको नियन्त्रण गरी निकुञ्जमा लैजान डिभिजन वन कार्यालयमार्फत पत्राचार गरिसकेको गाउँपालिका अध्यक्ष जिसीले बताए । “बाघका कारण स्थानीयवासी त्रसित भएका छन्, नियन्त्रणका लागि हामीले डिभिजन वन कार्यालयमार्फत निकुञ्जलाई पत्राचार गरिसकेका छौँ”, उनले भने, “बाघ नियन्त्रणमा लिएर निकुञ्ज नलैजाने समयसम्म गाउँपालिकावासीलाई सतर्क रहन आग्रह गरेका छौँ ।”

गाउँ सहर संवाददाता

तपाईँको मत