प्रेरणा

प्रेरक प्रसंग : तीन सन्त

एकदिन साँझपख एउटी महीलाले तीनजना सन्तलाई आफ्नो घर छेउमा देखीन्। ती महिलाले ती तीन सन्तलाई भनिन् - “तपाईहरु हाम्रो घरमा आई भोजन गरेर हामीमाथि कृपा गर्नुहोस् ।”

तर तीन सन्तमध्ये एकले भने - “हामी कुनै पनि घरमा एकसाथ तीनैजना जान सक्दैनौ ।”

“किन नि ?” महिलाले आश्चर्य मान्दै सोधिन् ।

एकजना सन्तले भने - “मेरो नाम धन हो । मसँगैका साथीहरु सफलता र प्रेम हुन् । हामीमध्ये कुनै एक जना मात्र तपाईँको घरमा गएर भोजन गर्न सक्छौँ । त्यसैले तपाईँ घर सल्लाह गरेर हामीमध्ये एक जनालाई भित्र लगेर भोजन गराउनुहोस् ।”

महिला भित्र गएर आफ्नो पति र छोरीलाई सबै कुरा सुनाईन् । पतिले खुशी भएर भने - “त्यसो हो भने हामी धनलाई बोलाउँ अनि हाम्रो घर सुखी हुन्छ ।”

पत्नीले भनिन् -“हामी धन भन्दा पनि सफलतालाई बोलाउँ ।”

उनीहरुको कुरा सुनेर छोरीले भनिन् - “हामी धन र सफलतालाई भन्दा पनि प्रेमलाई बोलाउँ किनभने प्रेमभन्दा ठूलो कुरा अरु केही हैन ।”

छोरीको कुरा सुनेर महिला र उसको पतिलाई चित्त बुझ्यो ।

महिला घर बाहिर गई र सन्तहरुलाई भनिन्- “तपाईँहरुमध्ये जसको नाम प्रेम हो, उहाँ कृपा गरेर हाम्रो घरभित्र आई भोजन ग्रहण गरिदिनुहोला ।”

प्रेम सन्त उनीहरुको घरभित्र गए । तर साथसाथै अन्य दुई सन्त पनि पछि पछि घरभित्र गए । 

महिलाले आश्चर्यपूर्वक भनिन्- “मैले त प्रेमलाई मात्र बोलाएकी थिएँ ।”

ती सन्तमध्ये एकले भने - “यदि तपाईँले धन र सफलतामध्ये कुनै एकलाई  निम्त्याउनु भएको भए एकजना मात्र भित्र जान्थ्यो । तर तपाईँले प्रेमलाई निम्त्याउनु भयो । प्रेमले कहिल्यै एक्लै यात्रा गर्दैन । प्रेम जहाँ जहाँ जान्छ, धन र सफलता पनि उसँगै पछिपछि जान्छन् ।”

गाउँ सहर डेस्क

तपाईँको मत