गाउँ सहर

बाँदरझुलावासी र सरोकारवालाबीच तीन बुँदे सहमति

काठमाडाैं । चितवन माडीको बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच तीन वुँदे सहमति भएको छ । बाँदरझुलावासीको समस्या सम्बोधन गर्न सरकार तयार भएसँगै संर्घष समितिसँग सहमति भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका चितवन क्षेत्र नम्बर ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको छ । उक्त छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल लगायत सहभागी थिए । त्यसपछि सरकार बाँदरझुला संर्घष समितिसँग समस्या समाधान गर्न सहमत भएको हो ।

बाँदरझुलावासीलाई तत्काल लालपूर्जा दिलाउनका लागि निकुञ्जसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार भएको हो । भूमि मन्त्रालय र वन मन्त्रालयले समझदारी गरी ऐन संशोधनको प्रस्ताव पेस गर्ने र पारित गराउने सहमति भएको हो ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालका अनुसार तीन बुँदे सहमतिपत्रमा राष्ट्रिय भूमि आयोग र आन्दोलनकारीका प्रतिनिधिले हस्ताक्षर गरेर सार्वजनिक हुँदैछ ।

‘आयोग र आन्दोलनमा रहेकाहरूबीच सहमति गरेर समस्या समाधान गर्ने सहमति भएको छ । सहमतिमा आन्दोलन रोक्ने र उहाँहरूका माग समाधन गर्न आयोगले गर्ने काम अगाडि बढाउने भन्ने सहमति भएको छ’ आन्दोलनकारीका मागमा नगरपालिकाको पनि समर्थन रहेको जनाउँदै मेयर ढकालले भने, -‘जग्गाधनी प्रमाणपूर्जाको बारेमा आयोगले तुरुन्तै सूचना निकाल्ने र कामलाई अगाडि बढाउने । अहिले अस्थायी पूर्जाको रूपमा निस्सा दिने पहिलो सहमतिको बुँदा छ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत