प्रेरणा

प्रेरक प्रसंग : जीवनको मूल्य

एकपटक एक शिक्षकले कक्षाकोठामा पढाइरहेका थिए । उनले अचानक गोजीबाट सय रुपैयाँको नयाँ नोट निकाले । उनले विद्यार्थीलाई नोट देखाउँदै प्रश्न गरे– भाइबहिनी हो ! के तपाईंहरू भन्न सक्नुहुन्छ कि यो कति रुपैयाँको नोट हो ? सबै विद्यार्थीले एक स्वरमा जवाफ दिए– सय रुपैयाँको ।

यो नोट कोको लिन चाहनुहुन्छ, भन्नुहोस् त ! सबै विद्यार्थीले एकसाथ हात उठाए । त्यसपछि शिक्षकले सो नोटलाई मुठीमा बन्द गरेर कच्याककुचुक पारे । नोट एउटै डल्लो पर्‍यो । त्यसपछि त्यही डल्लो देखाउँदै शिक्षकले सोधे– अब यो नोट कोको लिन चाहनुहुन्छ ? फेरि पनि सम्पूर्ण विद्यार्थीले एकसाथ हात उठाए । विद्यार्थीको जवाफपछि शिक्षकले पुनः सो नोटलाई जमिनमा फाले र आफ्नो जुत्ताले मजाले कुल्चिए । कुल्चिएको फोहोर नोट टिपेर शिक्षकले विद्यार्थीलाई देखाउँदै सोधे– अब यो नोट को–को लिन चाहनुहुन्छ ? पुनः सबै विद्यार्थीले एकसाथ हात उठाए । 

सबैले हात उठाएको देखेर मुसुक्क मुस्कुराउँदै शिक्षकले भने– विद्यार्थी भाइबहिनी हो ! आज मैले तपाईंहरूलाई एउटा गज्जबको शिक्षा दिएको छु । सुरुमा यो सय रुपैयाँको नयाँ नोट थियो । जब मैले यसलाई मुठीमा राखेर कच्याककुचुक पारेँ, त्यतिखेर पनि यसको मूल्य सय रुपैयाँ नै थियो । पछि मैले जुत्ताले कुल्चिँदा यो नोट फोहोर भयो, धुलो लाग्यो । तैपनि, यसको मूल्य सय रुपैयाँ नै छ । मानिसको जीवनमूल्य पनि यस्तै हुनुपर्छ । मानिसको क्षमता, बुद्धि र सीप जहिल्यै एकसमान रहन्छन् । त्यसैले, तपाईंहरूले पनि जीवनमा जतिसुकै कठिनाइ आओस्, जतिसुकै कठिन चुनौती पार गर्नुपरोस् आफ्नो मूल्य यस नोटको जस्तै कहिल्यै घट्न नदिनुहोला ।

गाउँ सहर डेस्क

तपाईँको मत