गाउँ सहर

प्रदेश-२ को नामाकरण र राजधानी सम्बन्धमा छलफल हुने

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाको बैठक लामो समयपछि आज बस्दैछ । प्रदेश प्रमुख हरिशंकर मिश्रले मंसीर ८ गते नै आज विहान ११ बजेका लागि आठौं अधिवेशन आह्वान गरेका थिए ।

आजको बैठकमा आठौं अधिवेशन आह्वान र सातौं अधिवेशन अन्त्य सम्बन्धी प्रदेश प्रमुखले पठाएको पत्र सभामुख सरोज कुमार यादवले पढेर सुनाउने छन् । त्यसपछि विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् हेरफेर तथा पुर्नगठन सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

आठौं अधिवेशन सुरु भएको अवसरमा दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार प्रदेशको नामाकरण र प्रदेशको राजधानी तोक्नेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको छ ।

यस्तै सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय अध्यादेश सामाजिक विकास मन्त्री नवलकिशोर साहले पेश गर्नेछन् ।

प्रदेशसभा गठन भएको चारवर्ष वित्दा पनि प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लगाउन नसकेको भनेर प्रदेश सरकारको आलोचना भइरहेको छ । दलहरुबीच सहमती नजुट्दा नामाकरण र राजधानी तोक्ने सरकारको प्रयास प्रदेशसभामै असफल भइसकको छ ।

जनकपुरधामलाई राजधानी तोक्ने विषयमा सहमती जुट्दा पनि नामाकरण विषयमा विवाद अहिले पनि कायमै छ ।

प्रमुख सत्तारुढ जसपा र प्रतिपक्षी लोसपा मधेस प्रदेश नामाकरण गर्नुपर्ने पक्षमा उभिएका छन् । तर सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मधेस प्रदेश स्वीकार गर्न तयार छैन ।

माओवादी सकारात्मक देखिए पनि कांग्रेस र नेकपा एसका सांसदहरु कुनै पनि हालतमा मधेस प्रदेश नाम स्वीकार नगर्ने बताउँछन् ।

प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, माओवादीका ८, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाई बहुमत आवश्यक पर्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत